विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ।
विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २–२ अंक जोडेको छ ।
दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको उदयपुरले १९ दशमलप ३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो। उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन बनाए भने निराजन तिवारीले २१ बलमा १० रनको योगदान दिए । उदयपुरका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
मोरङका मिनाशा थापाले कसिलो बलिङ गरे । उनले ४ ओभरमा ७ रन बनाएर ४ विकेट लिए । उनी खेलको प्लयेर अफ म्याच घोषित भएर नगद २ हजार पाँच सय पाए । अमर यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ थालेकोे मोरङले १९ दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११९ रनको लक्ष्य लिएको थियो । मोरङका दिपक पासवानले सर्वाधिक रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । सन्तोष चौधरीले २१ बलमा १८ रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।
उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३–३ विकेट लिए। तेजले ४ ओभरमा १८ रन खर्चिए भने नवराजले ३ ओभरमा ३३ रन खर्चिए।
सोही दिन भएको दोस्रो खेलमा सुनसरीले दिएको ११८ रनको लक्ष्य निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा आयोजकले पूरा गर्यो।
आयोजकको जितमा निरु मुखियाले सर्वाधिक रन बनाए । उनले २९ बलमा ३६ रन बनाए । निरुले १ छक्का १ चौका प्रहार गरे । मुकुन्द यादवले अविजित २५ बलमा २५ रन पारी खेले। सुनसरीका बलर हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १–१ विकेट लिए।
यसअघि सुनसरीले १९ दशमलप ६ बलमा सबै विकेट गुमाइ ११७ रनमा सिमित भएको थियो । जसमा सोनु मण्डलले ३६ बलमा ३४ रन र रितेस रोयले २० बलमा २८ रन बनाए । सुनसरीका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन्।
आयोजकका अलराउन्डर खेलाडी जोशक खड्काको कसिलो बलिङ सामु सुनसरीका खेलाडी क्रिजमा टिक्न सकेनन । उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिने विधान गोस्वामीले ३ ओभरमा ४१ रन खर्चर ३ विकेट लिए ।
बिहीबारको पहिलो खेल मोरङ र इलामबीच हुने छ भने सोही दिन हुने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ।