टेबल टेनिसमा ओलम्पिक खेल्ने नेपाललाई अवसर

6 May, 2024

सम्भवतः नेपालले टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी पाउन सक्नेछ, यदि नेपाली खेलाडीको प्रदर्शन अपेक्षाअनुसार राम्रो रहने हो भने। वैशाख ३१ देखि जेठ २ सम्म नेपालमा दक्षिण एसियाली ओलम्पिक छनोट हुनेछ। नेपालमा ओलम्पिक छनोटको अन्तिम चरण हुन लागेको यो नै पहिलो पटक हो ।

यसमा विजेता रहेका एक–एक पुरुष र महिला खेलाडीले फ्रान्समा हुने यसै वर्षको ओलम्पिकमा स्वतः प्रवेश पाउनेछ । ‘दक्षिण एसियालीस्तरमा हाम्रा खेलाडीको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली खेलाडी छनोट हुने सम्भावना अत्यधिक रहेको छ । दक्षिण एसियाली टेबल टेनिसमा भारतपछि नेपाल नै बलियो रहेको छ,’ टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भने ।

प्रतियोगितामा नेपालसँगै बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक देशबाट पुरुष र महिलातर्फ दुई–दुई खेलाडीले सहभागिता जनाउनेछन् । त्यस अर्थमा कुल २० खेलाडीको सहभागिता रहनेछ।

नेपालका तर्फबाट पुरुषमा संयोग कपाली र सान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले खेल्नेछन् । भारत यसअघि नै पेरिस ओलम्पिकका लागि छनोट भइसकेको छ । त्यसैले प्रतियोगितामा भारतले खेल्ने छैन र यो बाँकी देशका लागि अवसर बनेको छ ।

‘हाम्रा खेलाडीले आफ्नै भूमिमा खेल्न लागेका छन्, त्यसको पनि फाइदा हुनेछ,’ दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौतमले भने । प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँको बजेट रहेको छ । ‘आर्थिक सहयोगका लागि हामीले छलफल अगाडि बढाइरहेका छौं,’ अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले भने ।

नेपाली खेलाडीको प्रमुख प्रतिद्वन्द्वी श्रीलंका हुने मानिएको छ । यस्तै प्रतियोगिताका संयोजक तेजेन्द्र सिंहले नेपाली टेबल टेनिसका लागि यो नै ओलम्पिक छनोटका लागि सबैभन्दा अवसर रहेको दाबी गरे । उनका अनुसार खेल लिग कम नकआउटको आधारमा हुनेछ।

छनोटका खेल सञ्चालनका लागि सम्पूर्ण जनशक्ति विदेशबाट आउनेछन् । नेपालबाट अहिलेसम्म तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट मात्रै छनोट चरण पार गरेका छन्।