नेपाल तेक्वान्दो संघले राखेपमा आफ्नो दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदसहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार दायर गरेको रिटमा सोमबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको हो।
अध्यक्ष राणाले अन्तरिम आदेशको माग गरे पनि प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । बरु अन्तरिम आदेशका लागि पक्ष र विपक्ष दुवैलाई छलफलमा बोलाएको छ।
अघिल्लो मंगलबार राखेपले विवादित भनिएका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो । नेपाल तेक्वान्दो संघले तत्कालै राखेपको निर्णयको विरोध गरेको थियो।
राखेपले नेपाल उसु महासंघ र शारीरिक सुगठन संघको कार्यसमिति पनि विघटन गरी पुनर्गठन गरेको थियो । मंसिर २४ गते निवर्तमान खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय भन्दै तेक्वान्दोसहित तीनवटा खेल संघको दर्ता खारेजी र पुनर्गठनको निर्णय गरेका थिए।
अदालतको आदेश आउनुअघि सोमबार पत्रकार सम्मेलन गर्दै दर्ता खारेजीमा परेको नेपाल तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद ९राखेप० आफ्नो क्षेत्राधिकारबाट बाहिर गएर खेल संघमाथि हस्तक्षेप गरेकोमा सबै खेलकर्मीले विरोध गर्नुपर्ने दावी गरेको थियो।