नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम/आईटीएफ/एटीएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन्। शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा समान १–१ प्रतियोगिता खेल्ने छिन्।
प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने छिन्। त्यसपछि शिभालीले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्ने छिन्।
जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुने छिन्। जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्ने छिन्।
अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कपमा सहभागी हुने छिन्। शिभाली बुधबार फ्रान्स प्रस्थान गर्दै छिन्।
उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुन्। एसियामा चौथो वरीयता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस संघले जनाएको छ। एसियाबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए।
शिभालीलाई नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
