च्याम्पियन्स लिग नकआउट प्लेअफ : पिएसजी, युभेन्ट्स र डर्टमन्ड विजयी

12 Feb, 2025

युईएफए च्याम्पियन्स लिगको नकआउट चरणको प्लेअफको पहिलो लेगमा ठूला क्लबहरु फ्रेन्च क्लब पिएसजी, इटालियन क्लब युभेन्ट्स र जर्मन क्लब बोरुसिया डर्टमन्ड विजयी भएका छन्।

मंगलबार राति भएको खेलमा उसमान डेम्बेले चम्किएपछि पिएसजीले स्टाडे ब्रेसटोइसमाथि ३–०को जित निकाल्यो। उसका लागि डेम्बेलेले २ गोल गर्दा अर्को गोल भिटिन्हाले गरे।

२१औं मिनेटमा भिटिन्हाका गोलमा पिएजीले सुरुआती अग्रता लियो। उनले पेनाल्टीमा गोल गरेका थिए। त्यसपछि ४५औं र ६६औं मिनेटमा डेम्बेलेले गोल गरेपछि पिएसजी ३–०ले विजयी भयो।

यस्तै, अर्को खेलमा युभेन्ट्सले घरेलु मैदानमा डच क्लब पिएसभीमाथि २–१को जित निकाल्यो। युभेन्ट्सका लागि वेस्टन म्याकेनी र एमबान्गुलाले गोल गरे भने पिएसभीका इभान पेरेसिचले गोल गरेका थिए।

३४औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो। ५६औं मिनेटमा पेरेसिचले गोल गर्दै पिएसभीलाई खेलमा फर्काए। तर, ८२औं मिनेटमा एमबान्गुलाले गोल गरेपछि युभेन्ट्स २–१ले विजयी भयो।

यस्तै, अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि ३–०को जित निकाल्यो। खेलमा डर्टमन्डका लागि गुइर्सी, पार्सल ग्रोस र करिम एडेइमीले गोल गरेका थिए।