राष्ट्रपति रनिङ सिल्ड : उसुमा चार स्वर्णको टुङ्गो

17 Apr, 2024

राजधानीमा जारी १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा आज चार स्वर्ण पदकको टुंगो लागेको छ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष थाइची छ्वान विधामा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते। आयोजक राखेपको सेमी कभर्डहलमा भएको यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कास्य पदक प्राप्त गरेका छन्।

त्यसैगरी महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन्। सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अञ्जना सरदारले कास्य पदकमा चित्त बुझाइन्।

पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कास्य पदक जितेका छन् । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन्। कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कास्य पदक प्राप्त गरिन्।

सोही प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा आजै भएको तेक्वान्दो खेलको पहिलो दिन सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेशले सर्वाधिक ३ स्वर्ण पदक जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते।

छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ किलो तौल समूहको प्रतिस्पर्धामा सुप्रिया बजगाईं र छात्र ५१ किलो तौल समूहमा करण धोलीले बागमतीलाई स्वर्ण दिलाए।

त्यस्तै छात्र ५९ किलो तौल समूहमा सन्जल श्रेष्ठ तथा छात्रा ५३ किलो तौल समूहमा प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते। छात्र एकल पुम्सेमा मधेसका निश्चल धामी थारु तथा छात्र ४९ तौल समूहमा कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते।