भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३६ वर्षीय कोहलीले सोमबार सामाजिक सञ्जालमार्फत विराट रेड बल क्रिकेट छाड्ने घोषणा गरेका हुन्।
केहीअघि नै विराटले टेस्ट क्रिकेट छाड्ने संकेन गरेका थिए। उनले बिसिसिआईलाई टेस्ट छाड्न चाहेको बताएका थिए। बिसिसिसिआईले विराटलाई आसन्न इंग्ल्यान्ड भ्रमणसम्म टिममा रहनु आग्रह गरेको थियो। तर, उनले त्यो टेस्ट छाड्न निर्णय लिए।
विराटको यो निर्णयले विश्व क्रिकेटमा ठूलो हलचल ल्याएको छ। यो घोषणा रोहित शर्माले मे ७, २०२५ मा टेस्ट सन्न्यास लिएको पाँच दिनपछि आएको हो, जसले भारतीय टेस्ट क्रिकेटमा नयाँ अध्यायको शुरुआत हुने संकेत गरेको छ।
सन्न्यासको घोषणा गर्दै विराटाले नयाँ पुस्तालाई अवसर दिन यस्तो निर्णय लिएको बताएका छन्। उनले १४ वर्ष लामो टेस्ट क्रिकेटको यात्राले आफूलाई धेरै कुरा सिकाएको पनि उल्लेख गरेका छन्।
‘टेस्ट क्रिकेट मेरो लागि सधैं विशेष रह्यो। १४ वर्षको यो यात्राले मलाई धेरै कुरा सिकायो। मैले हरेक खेलमा आफ्नो सबैथोक दिएँ, र अब नयाँ पुस्तालाई अवसर दिने समय आएको छ। प्रशंसक, टोली, र बीसीसीआईप्रति म कृतज्ञ छु,’ कोहलीले इन्स्टामा लेखेका छन्।
टेस्ट क्रिकेटबाट विदा लिनु त्यति सहज नभए पनि यो सही भएको विराटले उल्लेख गरेका छन्। उनले आफ्नो टेस्ट करिअरलाई सधैं सम्झिरहने बताएका छन्।
‘टेस्ट क्रिकेटले मलाई धेरै कुरा सिकायो। यो खेलको गहिराइ र चुनौतीले मलाई बनायो। अब यो यात्रालाई यहाँ रोक्ने निर्णय गरेको छु, जुन मेरो मनको आवाज हो,’ उनले भनेका छन्।
कोहलीले जुन २०११ मा वेस्टइन्डिजविरुद्ध किंग्सटनमा टेस्ट डेब्यू गरेका थिए। उनको अन्तिम टेस्ट जनवरी २०२५ मा अष्ट्रेलियाविरुद्ध सिड्नीमा थियो। १२३ टेस्टमा उनले ४६.८५ को औसतले ९,२३० रन बनाएका छन्।

यसक्रममा कोहलीले ३० शतक प्रहार गरेका छन्, जसमा ७ दोहोरो शतक पनि छ। उनले ३१ अर्धशतक पनि बनाएका छन्। टेस्टमा उनको उच्च योगफल २५४ हो, जुन उनले २०१९मा दक्षिण अफ्रिकाविरुद्ध बनाएका थिए।
महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि सन् २०१४ मा विराट भारतीय टेस्ट टिमको कप्तान बनेका थिए। उनको नेतृत्वमा भारतले ६८ टेस्ट खेलेको छ, जसमा भारतले ४० जित निकालेका छन्। यसले कोहलीलाई भारतीय टेस्ट टिमको सबैभन्दा सफल कप्तान बनाएको छ। उनले २०१६–१७ मा लगातार चार टेस्ट सिरिजमा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यानको रेकर्ड बनाए।
उनको नेतृत्वमा भारतले लगातार ९ टेस्ट सिरिज जितेर अष्ट्रेलियाको रेकर्ड बराबरी गरेको थियो। उनको नेतृत्वमा भारतले २०१८–१९ मा अष्ट्रेलियामा ऐतिहासिक टेस्ट सिरिज जितेको थियो भने विश्व टेस्ट च्याम्पियनसिपमा लगातार शीर्ष स्थानमा रहेको थियो।
कोहलीको सन्न्यासको प्रमुख कारण उनको हालको फर्म र व्यक्तिगत प्राथमिकता मानिएको छ। सन् २०२० पछि उनको टेस्ट औसत ३०.७२ मा झरेको थियो, र अष्ट्रेलिया टूर २०२४–२५ मा उनले ५ म्याचमा २३.७५ को औसतले १९० रन बनाएका थिए।
कोहली र रोहितको सन्न्यासले भारतीय टेस्ट टोलीलाई आगामी इंग्ल्याण्ड टूरमा चुनौती थपिएको छ। शुभमन गिल, यशस्वी जायसवाल, र ऋषभ पन्तले मध्यक्रम सम्हाल्ने अपेक्षा छ, तर अनुभवको कमीले असर गर्न सक्छ। बीसीसीआईले मे २३ मा नयाँ कप्तान र टोली घोषणा गर्ने तयारी गरेको छ।
यसअघि टि–२० क्रिकेटबाट सँगै सन्न्यास लिएका रोहित र कोहली दुवै अब एकदिवसीय क्रिकेटमा मात्र देखिने छन्। अब दुवैको ध्यान २०२७को एकदिवसीय विश्वकपमा हुनेछ।
