प्रचण्ड कप भलिबल : एपीएफ र एभरेस्ट सेमिफाइनलमा

13 Jun, 2025
Share:
117 Shares

एभरेस्ट भलिबल क्लब र एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन्। समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टिमले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

पोखरास्थित कभर्डहलमा बिहीबार गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित निकाल्दै एभरेस्टले अन्तिम चारमा स्थान पक्का गर्यो। एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा हरायो । पहिलो सेटमा गण्डकीले २५–२१ ले जित निकालेपनि एभरेस्टले सुधारिएको प्रर्दशन गर्दै २५–१४, २५–२२ र २५–१४ को नतिजा निकाल्यो।

तेस्रो दिनको पहिलो खेलमा एपीएफले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले अन्तिम चारमा स्थान बनाउने क्रममा रामपुलाई २५–६, २५–६ र २५–७ को सेटमा हरायो । प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका खेलहरु हुनेछन्।

पहिलो सेमिफाइनलमा पुलिस र एभरेस्ट तथा दोस्रो सेमिफाइनलमा न्युडायमण्ड र एपीएफ भिड्ने समिकरण बनेको छ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले जनाएको छ।