दोलखा पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाई

1 Feb, 2026
Share:
117 Shares

च्यामा–काठमाडौं सेवा समाजद्वारा काठमाडौंमा आयोजित दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले हात पारेको छ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–स्थित अमरसिंह चौरमा सम्पन्न फाइनल खेलमा तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लबलाई पराजित गर्दै जिरी नगरपालिकाको टोलीले उपाधि जितेको हो।

त्यसैगरी प्रतियोगितामा मेलुङ गाउँपालिकाको टोली तेस्रो र कालिञ्चोक गाउँपालिकाको ‘ए’ टोलीले सान्त्वना स्थान हासिल गरेको खेल संयोजक भविन्द्र फुयाँलले जानकारी दिए ।

समाजका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेलले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा काठमाडौं क्षेत्र नं. २ की राप्रपाकी उम्मेदवार कुन्तिदेवी पोखरेललगायत विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

प्रतियोगिताका विजेताले प्रथम पुरस्कारस्वरूप ४० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार तथा सान्त्वना पुरस्कार १० हजार रुपैयाँ नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।