
राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्डको दबदबा, लिगमा तीनै विभागीय टिमलाई हरायो
काठमाडौंमा जारी राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्ड एकेडेमीले सानदार प्रदर्शन गरेका छ। तीन विभागीय टिमसहित ४ टिम सहभागी प्रतियोगितामा न्यु डायमन्ड अपराजित रहँदै फाइनल पुगेको छ ।
लिगको अन्तिम खेलमा उसले डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबमाथि ३–१को जित निकाल्यो । लागतार तीन खेल जित्ने क्रममा न्यु डायमन्डले २ सेट मात्र गुमायो । उसले आर्मीलाई ३–०को सेटमा हराउँदै पुलिसमाथि ३–१को सेटमा जित निकालेको थियो।
सोमबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा न्यु डायमण्डले एपीएफमाथि २५–२१, २५–१९,२१–२५ र २५–२१को सेटमा जित निकाल्यो।
यस जितसँगै न्यु डायमण्डले ३ खेलमा ९ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको छ । एपीएफ पनि दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ । एपीएफले ३ खेलमा ६ अंक जोड्यो । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेता टोलीले नगद ३ लाख, उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउने छन्।