एनपिएल खेल्न न्युजिल्यान्डका कुगेलेइन र इंग्ल्यान्डका जेब नेपाल आइपुगे

28 Nov, 2024

सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न न्युजिल्याण्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन्।

दुवै खेलाडी बुधबार नेपाल आइपुगेका हुन्। उनीहरुलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरे।

न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि २० आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए। उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ।

तीव्र गतिको बलिङ गर्ने तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ। स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ। उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन्।

टि २० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन्।

२६ वर्षीय बायाँ हाते अलराउन्डर जेबसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्यान्डको टि२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेल्नुभएका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन्।

टि–२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन बनाएका उनी पार्ट टाइम बलिङ पनि गछन्।

दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।

रोयल्सले विदेशी खेलाडीका रुपमा कुगेलेइन र जेबसँगै स्कटल्यान्डका ब्रान्डन मक्मलेन र युएईका रोहन मुस्तफालाई टिममा समावेश गरेको छ।

त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो।