नेपाली महिला भलिबल टिमले इतिहासमै पहिलो पटक भारतलाई हराएको छ। घरेलु मैदानमा जारी काभा महिला नेसन्स लिग अन्तर्गत शनिबार भएको खेलमा नेपालले भारतलाई ३–२ले हरायो।
भारतविरुद्धको ऐतिहासिक जित निकालेपछि नेपाली टिमकी कप्तान अरुणा शाहीले लक्ष्य अझै पुरा नभएको बताएकी छिन्। उपाधितर्फ संकेत गर्दै उनले आफूहरू यतिमै सीमित नरहने बतान्।
अरुणाले भारतलाई पहिलो पटक हराउनु खुसीको क्षण भएको बताउँदै उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्य भएको बताइन्।
समूह चरणका खेल अझै बाँकी र अबको लक्ष्य इरानजस्तो बलियो टिमलाई हराउनु पनि भएको उल्लेख उनले गरिन् । उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने बताइन्।
राम्रो सुरुआतका बाबजुद लय बिग्रिए पनि ‘रिकर्भर’ गर्न सक्दा भारतलाई हराउन सकेको बताइन्।
यता, मुख्य प्रशिक्षक जगदीश भट्टले सन् २०१६ पछि नेपाली महिला भलिबलको स्तर क्रमशः वृद्धि भइरहेको बताए भारतविरुद्ध पछिल्लोपटक कडा प्रतिस्पर्धा हुँदै आए पनि यसअघि जित्न नसकेको उनले उल्लेख गरे। शनिबार जित निकाल्दै इतिहास रचेको उनले बताए।
बलियो टिम इरानविरुद्ध खेल्न बाँकी नै रहेको उनले पनि सुनाए। उपाधिका निम्ति धेरै मिहिनेत गर्न बाँकी रहेको उनले बताए । उनले पनि यो जितबाट धेरैथोक पाइसकेको महसुस आफ्नो टिमले नगर्ने स्पष्ट पारे।