काभा पुरुष क्लब भलिबलको उपाधिका लागि हेल्प नेपाल र भारतको क्यालिकट भीड्ने

13 Dec, 2024

हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतका क्यालिकट हिराजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएको छ।

शुक्रवार भएका सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लव एचडिसी र क्यालिकट हिरोजले इरानको यू–१८ टोलीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। यी दुईबीच शनिबार नै उपाधि भिडन्त हुनेछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा क्यालिकटले इरानी युवा टोलीमाथि ३–१ को सेटमा जित निकाल्यो । यससँगै इरानी टोलीले जारी च्याम्पियनसिपमा पहिलो हार व्यहोर्‍यो। क्यालिकटले पहिलो सेट २५–२१ ले गुमायो। तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो ।

क्यालिकटले इरानी युवा टोलीविरुद्ध दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले आफ्नो बनायो । तर चौथो सेट भने रोमाञ्चक बन्यो । यो सेट पनि क्यालिकटले २६–२४ ले आफ्नो बनाउँदै फाइनलमा स्थान बनायो।

दोस्रो खेलमा हेल्प नेपालले क्लब एचडिसीलाई ३–० को सोझो सेटमा नै हरायो। पहिलो दुई सेट हेल्प नेपालले २५–१६ र २५–१८ ले सहजै आफ्नो बनायो। तर, तेस्रो सेटमा क्लब एचडिसीले चुनौती दिए पनि हेल्प नेपालले २५–२१ ले आफ्नो बनाउँदै क्यालिकटसँगको उपाधि भिडन्त पक्का गरेको हो।

पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जितसहित १० अंक जोड्दै इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको हो। समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक जोडेको थियो।

नेपालका दुई टोलीसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्लब एचडिसीले चार खेलबाट तीन अंक जोडेको छ। गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रहेको थियो। 

आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन्।

सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्।