तेस्रो मन्थली नगर कप रनिङसिल्ड पुरुष तथा प्रथम महिला रनिङसिल्ड भलिबल प्रतियोगिता शनिबारबाट मन्थलीमा सुरु भएको छ।
नगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पाँच दिनसम्म चल्ने छ । प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा पुरुष र ७ वटा महिला टिमले भाग लिएका छन्।
प्रतियोगितामा प्रथम हुने पुरुष समूहले १ लाख रुपैँया नगद पुरस्कार, सिल्ड तथा मेडल पाउने छ । महिला समूहले ५० हजार रुपैँया नगद, सिल्ड र मेडल पाउने छ । प्रतियोगिताका लागि १२ लाख रुपैँया विनियोजन गरिएको मन्थली नगरपालिकाले जनाएको छ।
खेल आगामी फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको दिन समापन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन वाग्मती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले गरे।
कार्यक्रममा बोल्दै श्रेष्ठले खेलाडीबाट राम्रो खेलको आशा गर्नु अघि उनीहरूका आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताए । अहिले सरकार खेल क्षेत्रको व्यवस्थित विकास गर्नुपर्छ भनेर अघि बढेको उनको भनाइ छ।
नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला स्थित राजनीतिक दलका नेताहरू लगायतको उपस्थिति रहेको थियो।