इटालियन भलिबल सुन्दरी कोडिएलले काठमाडौं स्पाइकर्सबाट खेल्ने

18 Aug, 2025

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडीलाई अनुबन्धन गरेको छ।

उषा भण्डारी मार्की खेलाडी रहेको काठमाडौंले लिगका लागि इटालियन खेलाडी ओउमाया कोडिएललाई अनुबन्ध गरेको हो। मिडल ब्लकर कोडिएल काठामडौंमा आबद्ध तेस्रो विदेशी खेलाडी हुन्।

यसअघि काठमाडौंले बुल्गेरियाकी सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरेको छ।

भलिबलमा एक दशकभन्दा लामो समयदेखि बिताएकी कोडिएलले मिडल ब्लकरसँगै अपोजिट हिटरका रुपमा पनि खेल्न सक्छिन्।

मोरोक्कोमा जन्मिएकी कोडिएल इटली सरेपछि त्यहीँबाटै खेल्न थालेकी हुन्। उनले इटली, फ्रान्स, मोरक्को, साउदी अरेबिया लगायत देशमा विभिन्न टिममा रहेर प्रतियोगिताहरु खेलिसकेकी छिन्।

कोडिएलले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्समा कांस्य पदक जितेकी थिइन्। यस्तै सन् २०२१ मा किगालीमा भएको अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा पनि उनले मोरोक्कोका लागि कांस्य जितेकी थिइन्।

उनले पहिलो पटक नेपालमा लिग खेल्न पाउँदा उत्साहित भएको बताएकी छिन्। उनले नेपाललाई बुझ्न र फ्यानहरुलाई भेट्न उत्सुक रहेको बताएकी छिन्।

काठमाडौंमा उषासँगै मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द आबद्ध छन्। टिमको प्रशिक्षकमा लोकबहादुर बुढा रहेका छन्।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]