आयोजक टाइगर ग्रुप अफ पोखरा मंगलबार पाँचौं टाइगर कप राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला क्वालिफायरमा पुगेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजक टोलीले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । आयोजकले एपीएफसँग पहिलो क्वालिफायर खेल्नेछ ।
लिग चरणको एक खेलअगावै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । न्यु डायमन्डले नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ । मंगलबारै त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एलिमिनेटरमा पुगेको थियो । पुलिसले २५–१८, २५–२१, २५–१९ ले खेल आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रता उल्टाउँदै पुलिसले जित निकालेको हो । महिलातर्फ आर्मी र थाई टिम एक खेलअगावै बाहिरिएका छन् ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरको विजेता टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेशले एपीएफलाई ३–१ सेटमा हराएको छ । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि लय समातेको थियो । टोलीले त्यसपछि लगातार तीन सेट २५–२०, २५–१९, २५–१५ ले खेल आफ्नो पक्षमा पारेर खेल जित्यो । गण्डकी र एपीएफले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस कलबलाई पनि ३–१ को सेटले हरायो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पियो । तेस्रो र चौथो सेटमा २५–१५, २५–२२ ले पुनरागमन गरेर आर्मीले खेल आफ्नो पोल्टामा पार्यो ।