आजबाट सुरु भएको पहिलो संस्करणको सहाना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ कोशी प्रदेशले विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ ले हरायो। कोशीले सुरुआती २ सेट २४–२६, २२–२५ ले पराजित भएको केशीले त्यसपछि लागतार ३ सेट जित्यो । उसले २५–२३, २५–२० र १५–११ ले जित निकाल्यो।
यस्तै, महिलातर्फ लुम्बिनी प्रदेशले मधेशलाई ३–० ले हराएको थियो। त्यस्तै पुरुषतर्फको पहिलो खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३–१ ले पराजित गरेको हो ।
सात प्रदेश सम्मिलित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ २ समूहमा विभाजन गरिएको छ। महिलातर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, कोशी र लुम्बिनी प्रदेश रहेका छन् भने समूह बी मा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्।
त्यस्तै पुरुषतर्फ समूह ए मा मधेश प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । पुरुषको समूह बी मा लुम्बिनी प्रदेश, गण्डकी र कोशी प्रदेश रहेका छन् ।
असार १५ सम्म चल्ने प्रतियोगितामा विजेताका दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख, २ लाख र १ लाख रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै दुवैतर्फ उत्कृष्ट खेलाडीले समान २५ हजार र विधागत उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।