काठमाडौं। लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि अर्जेन्टिना नयाँ युगतर्फ अघि बढेको छ।
प्रशिक्षक लिओनल स्कालोनीले मेसीपछिको टोली निर्माणलाई अघि बढाउँदै क्रिस्टियन ‘कुटी’ रोमेरोलाई नयाँ कप्तान बनाएका छन्।
२८ वर्षीय रोमेरो एट्लेटिको मड्रिडका सेन्टर ब्याक हुन्। उनी यसअघि मेसी र निकोलस ओटामेन्डीपछि अर्जेन्टिनाको तेस्रो कप्तानको भूमिकामा थिए। सिनियर खेलाडीहरू टोलीमा नरहेका बेला उनले चिली तथा भेनेजुएला र मौरिटानियाविरुद्ध आर्मब्यान्ड लगाइसकेका छन्।
रोमेरोलाई कप्तान बनाउने स्कालोनीको निर्णयलाई अर्जेन्टिनाका विश्वकप विजेता पूर्वफरवार्ड एन्जल डि मारियाले समर्थन गरेका छन्।
स्पोर्ट्स सेन्टरसँग कुरा गर्दै डि मारियाले रोमेरो कप्तानीका लागि योग्य रहेको बताए। उनले स्कालोनी र उनको प्रशिक्षक टोलीले राम्रो निर्णय गरेको उल्लेख गर्दै रोमेरो उत्कृष्ट व्यक्ति भएकाले कप्तानको जिम्मेवारी सम्हाल्न आवश्यक मानसिकता पनि रहेको बताए।
डि मारियाले मेस्सीबिनाको नयाँ अर्जेन्टिना टोलीलाई पनि समर्थकहरूले निरन्तर साथ दिनुपर्ने बताएका छन्। राष्ट्रिय टोलीले आगामी दिनमा पनि समर्थकलाई खुसी दिने विश्वास व्यक्त गर्दै उनले नयाँ पुस्ताको टोलीलाई समर्थन गर्न आग्रह गरेका छन्।
