काठमाडौं। विश्वकपमा पहिलोपटक सहभागिता जनाउँदै केप भर्डेले अप्रत्याशित प्रदर्शन गर्दा त्यसको केन्द्रमा रहे गोलरक्षक भोजिन्हा।
स्पेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि ४० वर्षीय भोजिन्हा रातारात चर्चित बने। तर, त्यससँगै उनको सामान्य जीवन भने निकै बदलिएको छ।
विश्वकपअघि भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेल्थे। स्पेनविरुद्ध गोलरहित बराबरीमा उनले सात महत्त्वपूर्ण बचाउ गरे। खेल सकिएको केही घण्टामै उनको इन्स्टाग्राम फलोअर्स ५६ हजारबाट बढेर १० लाखभन्दा माथि पुग्यो।
अचानक बढेको लोकप्रियताले आफ्नो व्यक्तिगत स्वतन्त्रता नै गुमेको भोजिन्हाले बताएका छन्। द अब्जर्भरसँगको कुराकानीमा उनले चर्चित भएपछि आफ्नो शान्ति र स्थिरता हराएको बताए।
भोजिन्हाका अनुसार अहिले बाहिर निस्किँदा, रेस्टुरेन्ट जाँदा वा सार्वजनिक स्थानमा पुग्दा मानिसहरू फोटो र अटोग्राफ माग्ने गर्छन्। कतिपयले उनको भिडियोसमेत बनाउने गरेका छन्। यही परिवर्तनले आफ्नो जीवनमा सबैभन्दा ठूलो असर पारेको उनले बताएका छन्।
विश्वकपका क्रममा सामाजिक सञ्जालमा आफ्नो फलोअर्स अस्वाभाविक रूपमा बढेको कुरा पनि उनले सुरुमा पत्याएका थिएनन्।
टोलीका क्याटरिङ स्टाफले उनलाई ठूलो संख्यामा फलोअर्स पुगेको बताए पनि भोजिन्हाले मजाक गरेको ठानेका थिए। पछि एक पत्रकारले आफ्नो फोन देखाएपछि मात्रै उनले इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर्स पुगेको थाहा पाएका थिए।
लोकप्रियताको बढ्दो दबाबबाट फुटबलमा ध्यान केन्द्रित गर्न उनले इन्स्टाग्रामको नोटिफिकेसन नै बन्द गरे। उनको बढ्दो चर्चाका कारण व्यावसायिक कम्पनीहरूले पनि उनलाई सम्पर्क गर्न थालेका छन्। तर भोजिन्हाले तंबाकु, मदिरा र बेटिङसँग सम्बन्धित ब्रान्डको प्रचार नगर्ने स्पष्ट पारेका छन्।
अचानक पाएको स्टारडमबारे भोजिन्हाको धारणा भने स्पष्ट छ। चर्चित हुन चाहनेहरूले यसको सकारात्मक पक्ष मात्रै देख्ने गरेको बताउँदै उनले अहिलेको जीवन र विश्वकपअघि आफ्नो पुरानो जीवनमध्ये छनोट गर्नुपरे पुरानै जीवन रोज्ने बताएका छन्।
विश्वकपमा उत्कृष्ट प्रदर्शनपछि भोजिन्हाको करियरले पनि नयाँ मोड लिएको छ। उनी चिलीको चर्चित क्लब कोलो–कोलोमा आबद्ध भएका छन्। पछिल्लो समय अफ्रिका कप अफ नेसन्सको छनोटअन्तर्गत मालीविरुद्ध केप भर्डेको ३–१ को हारमा उनले पूरा ९० मिनेट खेलेका थिए।
अब भोजिन्हाका लागि मैदानमा प्रदर्शनसँगै अचानक प्राप्त भएको लोकप्रियता र सामाजिक सञ्जालको बढ्दो दबाब व्यवस्थापन गर्नु पनि नयाँ चुनौती बनेको छ।
