काठमाडौं। नेपाल भ्रमणमा रहेको भुटान अभ्यास खेलमा क्यान–११ सँग १३ रनले पराजित भएको छ।
‘भुटान टुर टु नेपाल–२०२६’ अन्तर्गत बिहीबार भएको खेलमा क्यान–११ ले दिएको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सक्यो।
१२४ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमायो। नामगे थिन्लेले ४४ बलमा ५ चौकासहित २९ रन बनाए।
सोनाम छोफेल र थिन्ले जम्त्शोले समान १९ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
त्यस्तै रञ्जुङ मिक्यो दोर्जीले १३ तथा अन्तिमतिर आनन्द मोङ्गरले अविजित १० रन बनाए। सोनाम येशे ३ बलमा ५ रन बनाउँदै अविजित रहे।
क्यान–११ का बिपिन शर्माले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए। बिपिन खत्री र युवराज खत्रीले समान २ विकेट लिए भने दयानन्द मण्डलले १ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
टोलीको इनिङ्समा कप्तान बिपिन खत्री नायक बने। उनले ३६ बलमा ५ चौका र ४ छक्काको मद्दतले ५२ रनको आक्रामक इनिङ्स खेले।
क्यान–११ का अर्जुन कुमालले २१ बलमा २५ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे।
भुटानका सोनाम येशे सबैभन्दा प्रभावशाली रहे। उनले ४ ओभरमा मात्र ११ रन खर्चेर २ विकेट लिए। थिन्ले जम्त्शो र गाकुल कुमार घलेले पनि २–२ विकेट लिए।
