आईसीसीले क्रिकेटमा केही नयाँ नियम लागू गरेको छ । अक्टोबर १ देखि लागू हुने गरी क्रिकेटको सर्वोच्च संस्था आईसीसीले यी नियम लागू गरेको हो । जसले ओभरथ्रो, रनआउट, बलको आकार, रङ, विश्रामको समय, प्रशिक्षकको मैदान प्रवेशसहितमा नयाँ नियम ल्याएको हो । यसरी लागू भएका नियमलाई आईसीसीसीले ठ्याक्कै १० वटा भनेर उल्लेख गरेको छैन । तर बुझ्ने सहजताको लागि हामीले १० बुँदामा यो नियमबारे उल्लेख गरेका छौँ ।
१.ब्याटरले समय खेर फाले पाँच रनको पेनाल्टी
ब्याटरले बल खेल्न तयार हुनुपर्ने निर्धारित समयमा तयार नभएमा अम्पायरले पहिलोपटक चेतावनी दिनेछन् । दोस्रोपटक त्यस्तो गल्ती गरेमा अन्तिम चेतावनी दिइनेछ । तेस्रोपटकदेखि प्रत्येक गल्तीमा विपक्षी टोलीलाई पाँच रन पेनाल्टी दिइनेछ ।
यस्तो चेतावनी इनिङ्स समाप्त भएपछि वा ८० ओभर पूरा भएपछि पुनः शून्यबाट सुरु हुनेछ । बारम्बार समय खेर फालेमा खेलाडी आचारसंहिताअनुसार थप कारबाहीसमेत हुन सक्नेछ । यो टेस्ट क्रिकेटमा आएको नयाँ नियम हो ।
२.क्रिकेट बलको आकार र तौलमा नयाँ मापदण्ड
आईसीसीले पुरुष, महिला र जुनियर क्रिकेटमा प्रयोग हुने बलको आकार र तौलका लागि छुट्टाछुट्टै मापदण्ड लागू गरेको छ । यसअघि महिला र जुनियर क्रिकेटमा एउटै प्रकारको बल प्रयोग हुने गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार तीनै वर्गका लागि बलको आकार र तौलमा निश्चित सीमा तोकिएको छ । यसले खेलाडीको उमेर र वर्गअनुसार उपयुक्त बल प्रयोग सुनिश्चित गर्नेछ । विशेषगरी महिला क्रिकेटमा प्रयोग हुने बलको मापदण्डलाई थप स्पष्ट र कडा बनाइएको छ ।
३.ओभरथ्रोको परिभाषामा स्पष्टता
फिल्डरले रनआउट गर्न वा रन रोक्न बल फ्याँक्दा बल आफ्नो लक्ष्यमा नपुगी अन्यत्र गएमा त्यसलाई ओभरथ्रो मानिन्छ । तर फिल्डरले अर्को खेलाडीलाई बल पास गर्ने क्रममा भएको गल्तीलाई स्वतः ओभरथ्रो मानिने छैन ।
बल फ्याँक्नुको उद्देश्य र त्यस क्रममा भएको घटनाका आधारमा अम्पायरले निर्णय गर्नेछन् । यसले ओभरथ्रो र सामान्य फिल्डिङ गल्तीबीचको भिन्नता स्पष्ट पार्नेछ । खेलमा रन गणना गर्दा पनि यो भिन्नता महत्त्वपूर्ण हुनेछ ।
४.बल रोकिएको अवस्था निर्धारण गर्ने नियम
बल खेलमा छ वा रोकिएको छ भन्ने निर्णय गर्दा अम्पायरले बलर वा विकेटकिपरको हातमा बल छ कि छैन भन्ने मात्र हेर्नुपर्ने छैन । बलको गति र खेलाडीले त्यसलाई नियन्त्रणमा लिएको अवस्थासमेत विचार गरिनेछ ।
बल खेलाडीको नियन्त्रणमा आइसकेको र खेलमा थप गतिविधि हुने सम्भावना नरहेको अवस्थामा बल रोकिएको मान्न सकिन्छ । यसले खेलमा बल रोकिएको समयबारे हुने विवाद कम गर्ने उद्देश्य राखेको छ ।
५.रनआउट र स्टम्पिङमा बलको नियन्त्रण
रनआउट वा स्टम्पिङ गर्दा बलमाथि फिल्डरको नियन्त्रण भएको हुनुपर्ने विषयलाई नयाँ व्यवस्थाले स्पष्ट पारेको छ । विकेटकिपरले बल समातेको वा फिल्डरले बलले स्टम्पमा प्रहार गरेको अवस्थामा मात्र निर्णय गरिने छैन ।
बल नियन्त्रणमा थियो कि थिएन भन्ने विषय पनि महत्त्वपूर्ण हुनेछ । यसले बल नियन्त्रणबिनै स्टम्प भत्काइएको अवस्थाको निर्णयमा स्पष्टता ल्याउनेछ । अम्पायरले घटनाको प्रकृति र नियमअनुसार निर्णय गर्नेछन् ।
६. दिउँसोको टेस्टमा गुलाबी बल प्रयोग
आईसीसीले टेस्ट क्रिकेटमा दिउँसो पनि गुलाबी बल प्रयोग गर्न सकिने व्यवस्था परीक्षणका रूपमा ल्याएको छ । यसअघि गुलाबी बल मुख्यतः दिनरात टेस्टमा प्रयोग गरिन्थ्यो । नयाँ व्यवस्थाअनुसार दुवै टोली सहमत भएमा दिउँसो खेलिने टेस्टमा पनि गुलाबी बल प्रयोग गर्न सकिनेछ ।
तर खेल सुरु हुनुअघि नै यसको निर्णय गर्नुपर्नेछ । खेल सुरु भइसकेपछि रातो बललाई गुलाबी बलले वा गुलाबी बललाई रातो बलले बदल्न पाइने छैन ।
७. दिनको अन्तिम ओभरमा विकेट झरेपछि पनि खेल जारी
टेस्ट क्रिकेटमा दिनको अन्तिम ओभरमा विकेट झरेपछि खेल स्वतः समाप्त हुने व्यवस्था परिवर्तन गरिएको छ । अन्तिम ओभर पूरा हुन बाँकी छ र मौसम तथा मैदानको अवस्था खेल्न योग्य छ भने बाँकी बल फ्याँकेर ओभर पूरा गर्नुपर्नेछ ।
यसअघि अन्तिम ओभरमा विकेट झरेपछि दिनको खेल समाप्त गरिन्थ्यो । नयाँ नियमले बलिङ टोलीलाई बाँकी बलमा थप विकेट लिने अवसर दिन्छ । यसले खेलको समयको सदुपयोग गर्ने उद्देश्य पनि राखेको छ ।
८ .टी–२० अन्तर्राष्ट्रियमा १५ मिनेटको विश्राम
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई इनिङ्सबीच १५ मिनेटको निश्चित विश्रामको व्यवस्था गरिएको छ । यसअघि खेलको परिस्थितिअनुसार विश्रामको समय फरक हुन सक्थ्यो । नयाँ नियमअनुसार समय अभाव भएको अवस्थामा विश्रामलाई घटाएर न्यूनतम १० मिनेटसम्म कायम गर्न सकिनेछ ।
यसले खेलको समय व्यवस्थापनलाई व्यवस्थित बनाउनेछ । यो नियम महिला टी–२० अन्तर्राष्ट्रियमा लागू भइसकेको थियो भने अब पुरुष क्रिकेटमा पनि लागू भएको छ ।
९.ड्रिंक्स ब्रेकमा प्रशिक्षकले मैदान प्रवेश गर्न पाउने
एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ड्रिंक्स ब्रेकका बेला मुख्य प्रशिक्षक वा उनले तोकेको प्रतिनिधिले मैदानमा प्रवेश गर्न पाउनेछन् । यसअघि खेलाडीबाहेकका व्यक्तिलाई मैदानमा प्रवेश गर्न सामान्यतया अनुमति थिएन ।
नयाँ व्यवस्थाले प्रशिक्षकलाई खेलाडीहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर दिएको छ । यस समयमा प्रशिक्षकले खेलको रणनीति र खेलाडीको अवस्थाबारे छलफल गर्न सक्नेछन् । तर यस्तो प्रवेश निर्धारित ड्रिंक्स ब्रेकमा मात्र गर्न पाइनेछ ।
१०.वाइड बलको नियम स्थायी
बल फ्याँक्नुअघि ब्याटरले आफ्नो स्थान परिवर्तन गर्दा वाइड बलको निर्णयमा समस्या हुने गरेको थियो । नयाँ व्यवस्थाले बल फ्याँकिएको समयमा ब्याटरको खुट्टाको अवस्थालाई वाइड निर्धारण गर्ने आधार बनाएको छ ।
ब्याटरले बल फ्याँकिएपछि आफ्नो स्थान परिवर्तन गरे पनि त्यसलाई आधार मानेर वाइडको निर्णय गरिने छैन । यो व्यवस्था यसअघि परीक्षणका रूपमा लागू गरिएको थियो । अब एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसलाई स्थायी बनाइएको छ ।
