एनभीए अवार्डमा पुलिसका रविन र एपिएफकी निरुता सर्वोत्कृष्ट, सुमित्रा रेग्मी उदीयमान खेलाडी

12 Apr, 2025
Share:
117 Shares

पाँचौं एनभीए अवार्ड २०८१ शनिबार सम्मपन्न भएको छ। अवार्डमा पुरुषतर्फ रविन चन्द र महिलातर्फ निरुता ठगुन्नाले सर्वोत्कृष्ट खेलाडी बने।

रविन नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेल्छन् भने निरुता एपिएफ क्लबमा आबद्ध छिन्।

दुवै राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन्। दुवै जनाले ५० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे।

यस्तै, पुलिस क्लबकै पहल गहतराज पुरुष तर्फ उदीयमान खेलाडी बन्दा महिलामा न्यू डायमण्ड क्लबकी सुमित्रा रेग्मी उदीयमान खेलाडी बने। उनीहरूले पनि ५० हजार रुपैयाँ पुरस्कार पाए।

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड पुरुष टिमतर्फ एपीएफ क्लबका महेश चौधरी र महिला टिमतर्फ पुलिस क्लबका रुपेश विष्टले जिते।

यस्तै, वर्ष उत्कृष्ट टिमको अवार्ड पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ पुलिस क्लबले जिते। दुबै टिमलाई २ लाख रुपैयाँ पुरस्कार प्रदान गरियो।

सो अवसरमा गत वर्षको काभा यू–२० च्याम्पियनसिपमा उपविजेता बनेको पुरुष टिमलाई ४ लाख ५० हजार रुपैयाँ दिइयो।

नेपाली महिला राष्ट्रिय टिमकी पूर्वकप्तान विनिता बुढाथोकीलाई ५० हजार रुपैयाँसहित सम्मान गरियो भने पत्रकार लक्ष्मी शाक्यलाई पनि ५० हजारसहित नै सम्मान गरियो।