छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका हुन्।
च्याम्पियनसिपको पहिलो दिन पुरूषतर्फ एपीएफ, त्रिभुवन आर्मी क्लब विजयी भए।
आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा गर्न सफल रह्यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो ।
आजको अन्तिम तथा तेस्रो खेलमा एपीएफले गण्डकी प्रदेशलाई स्तब्ध पार्यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो ।
तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपिएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुआत गर्यो ।
प्रतियोगिताअन्तर्गत भोलि शनिबार ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ। महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन्।
पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए। पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ ।
माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।
