छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो।
निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो। चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पार्यो।
च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता गराएको छ। पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पराजित भएको गण्डकीले दोस्रो खेलमा माल्दिभ्स भलिबल एसोसियसनलाई पराजित गरेको थियो।
आर्मीले भने लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा माल्दिभ्सलाई हराएको आर्मी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
यसअघि आजै भएका खेलमा महिला र पुरुष दुवैतर्फ एपीएफले जित निकाल्यो। पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो।
महिलातर्फ एपीएफले त्रिभुवन आर्मी क्लबलार्य पराजित गरेको थियो। आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्यो।
च्याम्पियनसिपअन्तर्गत भोलि मंगलबार ४ खेल हुनेछन्। पहिलो खेल महिलातर्फ आर्मी र थाइल्याण्ड क्विन्सबिच बिहान साढे ८ बजेबाट सुरु हुनेछ।
दोस्रो खेल महिलातर्फ नै न्यू डायमण्ड स्पोट्र्स क्लब र पुलिसबिच हुनेछ। त्यसपछि पुरुषतर्फका २ खेल हुनेछ। पुरुषतर्फको पहिलो खेलमा पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्स भिड्नेछन् । पुरुषतर्फको दोस्रो खेल गण्डकी र पुलिसबिच हुने तालिका छ।
