छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा एपीएफले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो। च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ।
अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिष्पर्धा गर्नेछन्। यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो।
आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्यो। आर्मीले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरियो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन्।
