नेपाल भलिबल संघ (एनभीए) र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मीबीच नयाँ सम्झौता भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच संघले केल्मीसँग सम्झौता गरेको हो।
संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । यसअघि केल्मीले अनौपचारिक रुपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आए पनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसाबले केल्मीसँग सम्झौता गरिएको संघका अध्यक्ष चन्दले बताए।
उनका अनुसार भलिबल संघले केल्मीसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको हो । सम्झौताअनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री उपलब्ध गराउने छ।
केल्मीले तीन वर्षमा करिब एक करोड रुपैयाँ बराबरको खेल सामाग्री भलिबल संघलाई उपलब्ध गराउने छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल सामग्री व्यवस्थापनमा भोग्दै आउनु परेको समस्याबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले केल्मीलाई धन्यवाद दिए।
केल्मीका कन्ट्री डिरेक्टर न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी १०–२० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे।
नेपाली खेलकुदमा भलिबलको लोकप्रियता बढ्दै गएको र राष्ट्रिय खेल पनि भएकाले आफूहरुले भलिबल संघसँग सहकार्य गरेको केल्मी नेपालका म्यानेजिङ डाइरेक्टर उत्तम न्यौपानेले बताए।
सम्झौतापछि केल्मीले एक सय वटा नेट र ४ सय वटा बल संघलाई प्रदान गर्ने अध्यक्ष चन्दले बताए। उक्त खेल सामाग्री नेपालको भलिबल विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका क्लब, प्रदेश र जिल्लालाई प्रदान गरिने चन्दले जानकारी दिए।