पेरिस ओलम्पिकमा जुडोकी मनिता १ मिनेटमै पराजित

29 Jul, 2024
Share:
117 Shares

नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान जारी पेरिस ओलम्पिक महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन्।

इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा पराजित भएकी हुन्। पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा मनिता सर्बियाकी मरिका पेरिसिकसँग १०–० फराकिलो अन्तरले पराजित भइन्।

२५ वर्षीया मनीताले १२औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत विजेता खेलाडी हुन्। उनले इन्डोनेसियाको जकार्ता तथा चीनको हाङझावमा भएको क्रमशः १८औं र १९औं एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन्।

पेरिस ओलम्पिकमा मनीतासँगै ४ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल बाहिरिसकेका छन्।

सोमबारै नेपालका प्रिन्स दाहालले समूह चरणको आफ्नो दोश्रो खेलमा स्थानिय समय अनुसार राती ९ः१० बजे आयरल्यान्डका हात गुयेनसंग प्रतिस्पर्धा गर्ने छन्। मंगलबार हुने नेपालको एक मात्र प्रतिस्पर्धामा पौडीका एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्।