ओलम्पिको महिला म्याराथनमा सन्तोषी आफ्नै कीर्तिमानभन्दा पछि परिन्

11 Aug, 2024
Share:
117 Shares

पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औं स्थान हासिल गरेकी छिन्।

पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सकेन्डको समयमा पुरा गरिन्।

‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी सन्तोषीले आफ्नै टाइमिङमा पनि सुधार गर्न सकिनन्। जनवरीमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा उनले २ घण्टा ४६ मिनेट २३ सेकेन्डको राष्ट्रिय कीर्निमान बनाएकी थिइन्।

महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए।

महिला म्याराथनमा नेदरल्यान्ड्सकी सिफान हसन कीर्तिमानसहित स्वर्ण जितेकी छिन्। उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन्।

उनले इथियोपियाकी जेलना टिकीको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सेकेन्डको ओलम्पिक कीर्तिमान तोडेकी हुन्।

यस्तै, दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफाले रजत र केन्याकी ओबिरीले कास्य पदक जितिन््। उनले सो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् ।

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिसकेका थिए।