सरकारद्वारा काभा नेसन्स लिगको उपविजेता महिला भलिबल टिम नगदसहित सम्मानित

29 Aug, 2024
Share:
117 Shares

गत महिना घरेलु मैदानमा भएको काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको महिला भबलिल टिमलाई सरकारले नगदसहित सम्मान गरेको छ।

सरकारले बिहीबार नेपाली राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षकहरु, व्यवस्थापक र फिजियोलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

गत साउन ३१ गतेको मन्त्रिपरिषद् बैठकले महिला भलिबल टिमलाई सम्मान गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सरकारले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरेको हो।

सरकारले १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्यप्रशिक्षक जगदिश भट्टलाई दुई लाख, सहायक प्रशिक्षक भरत यादव र फिजियो लोकन्द्र कुँवरलाई समान एक लाख २० हजार रुपैयाँसहित सम्मान गरेको हो।

सम्मानित हुने खेलाडीहरूमा प्रगति नाथ, सरस्वति चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, सुमित्रा रेग्मी, कविता भट्ट, आरति सुवेदी, संगम महतो, सलिना श्रेष्ठ, शान्तिकला तामाङ, कामना विष्ट छन्।

गत महिना भएको नेसन्स लिगमा नेपाली टिम फाइनलमा भारतसँग ३–२को सेटमा पराजित हुँदै उपविजेता बनेको थियो।