भारतीय टिमकी कप्तान साजीले मधेश युनाइटेडबाट महिला भलिबल लिग खेल्ने

3 Sep, 2024
Share:
117 Shares

मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल)का लागि भारतीय टोलीकी कप्तान एवं सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ।

योसँगै मधेश युनाइटेडले प्रतियागिताका तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। मधेश तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेको छ।

मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई गरिसकेको छ।

केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन्। उनले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन्।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिग हुन लागेको हो।

एभरेष्ट महिला भलिबल लिग आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुनेछ।

मधेश टिम विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणपछि सन्तुलित टिम बनेको छ।

जिनीको अनुबन्धपछि मधेश युनाईटेडमा खेलाडी संख्या ११ पुगेको छ। नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ।