महिला भलिबल लिगमा कर्णालीको लगातार चौथो जित, फाइनल सम्भावना बलियो

4 Oct, 2024
Share:
117 Shares

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यस्विसले लगातार चौथो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगितामा लगातार चौथो जित निकालेसँगै कर्णालीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। लिगमा कर्णाली एमात्र अपराजित टिम हो।

बिहीबार भएको खेलमा कर्णालीले चितवन शक्तिलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै अपराजित यात्रा कायम राखेको हो।

पाँचौँ सेटसम्म गएको खेलमा कर्णालीले पहिलो सेट २५–२० अंकले गुमाएको थियो। त्यसपछि दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै चितवनले २५–२१ ले आफ्नो पक्षमा पार्दा चौथो र पाँचौँ सेटमा भने २५–१५ र १५–१३ अंकले कर्णालीले बाजी मार्‍यो।

कर्णालीका लागि उत्कृष्ट खेल प्रदर्शन गरेकी मार्की खेलाडी सुमित्रा रेग्मी प्लेयर अफ द म्याच चुनिएकी छन्।

लिगमा १० अंक जोडेको कर्णाली शीर्ष स्थानमा छ। उसको फाइनल लगभक पक्का जस्तै छ। अब कर्णालीले लिगकाे अन्तिम खेल काठमाडौं स्पाइकर्ससँग खेल्ने छ।