ललितपुर र चितवनको प्रोटेस्टपछि महिला भलिबल लिग अवरुद्ध

4 Oct, 2024
Share:
117 Shares

जारी एभरेष्ट वुमन्स भलिबल लिगमा शुक्रबार लिग चरणको अन्तिम खेल हुने तालिका थियो। तर, टिमले प्रोटेस्ट गरेपछि शुक्रबारका खेल अवरुद्ध भएका हुन्।

लिगमा नियमावली विपरीत खेल भइरहेको भन्दै चितवन शक्ति र ललितपुर क्विन्सले छानबिनको माग गर्दै प्रोटेस्ट गरेपछि खेल अवरुद्ध भएको हो। चितवनले काठमाडौं र कर्णालीविरुद्ध तथा ललितपुरले गण्डकीविरुद्ध छानबिनको माग छन्। उजुरी गरेका टिमविरुद्ध चितवन र ललितपुर दुवै पराजित भएका थिए।

गण्डकीले खेलाडी सोइङ थापालाई ट्यालेन्ट हन्टको खेलाडीको रुपमा मैदानमा उतारेकामा ललितपुरले असहमति जनाएको छ। ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीले यसअघि कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको हुन नहुनेमा सोइङले यसअघि नै नेपाल भलिबल संघले आयोजना गरेको लिग र अन्य राष्ट्रियस्तरका खेल खेलिसकेको ललितपुरको दाबी छ।

त्यस्तै, चितवनले पनि काठमाडौंकी रितिका भट्ट र कर्णालीकी सीतासेन ठकुरीलाई ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीको रुपमा खेलाएकामा आपत्ति जनाएको छ। रितिकाले सुदूरपश्चिम टिममा रहेर नवौं राष्ट्रिय खेलकुद खेलिसकेकी छन् भने कर्णालीकी सीताले पनि नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छन्।