काठमाडौंले चितवनलाई हरायो, दुवैकाे प्लेअफ सम्भावना कायमै

14 Apr, 2025
Share:
117 Shares

जारी नेपाल सुपर लिगमा काठमाडौं रेजर्स विजयी भएको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले एफसी चितवनलाई २–०ले हरायो।

यो जितसँगै काठमाडौंले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। लिगका सबैखेल खेलिसकेको उसले ८ अंक छ। ऊ अहिले तेस्रो स्थानमा छ। अब उसलाई प्लेअफ पुग्न अन्तिम खेलमा चितवन र पोखरा थन्डर्स मध्ये एक पराजित हुनु पर्नेछ वा पोखराले अंक गुमाउनु पर्नेछ।

काठमाडौंलाई जित दिलायन बकारी माने र अमडोउ डिओपले गोल गरे।

खेलको ३२औं मिनेटमै काठमाडौंले मानेको गोलमा सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समय कप्तान अञ्जन विष्ट चोट बोक्दै मैदनबाट बाहिरिएपछि चितवन दबाबमा आएको थियो।

५६औं मिनेटमा युसुफ मलिकले रातो कार्ड पाएपछि चितवन १० खेलाडीमा सीमित भयो। युसुफ र अलिजोन अलिजोनोभबीच केही नोकझोक चलेपछि दुवैलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड देखाए। यसअघि नै युसुफले पहिलो पहेंलो कार्ड सामना गरिसकेका थिए।

१० खेलाडीमा सीमित चितवनविरुद्ध काठमाडौंले ७२औं मिनेटमा अग्रता दोब्बर बनायो। दिनेश हेन्जनको कटब्याकमा रोहन कार्कीले मिलाएको पासमा डिओपले गोल गरे।