बागमती प्रदेशकी अनिशा थारुले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११।२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन्। अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन्। लुम्बिनीकी पिन्जु चौधरी दोश्रो तथा कर्णालीकी सरिता शाही तेश्रो भए।
शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र÷छात्राको ४ गुणा १ सय मिटर रिलेमा गरी ३ कीर्तिमान बने। छात्र ४ गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे। बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन्। गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो बने।
सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारु, रामकुमारी थारु र सम्झना थारुको नाममा ५४.२ सेकेन्डको कीर्तिमान थियो। लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे।
तीनदिने एथलेटिक्समा जम्मा ९ कीर्तिमान बने । यसअघि छात्र १ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर (१०.७६ सेकेन्ड०, छात्रा ४ सय मिटर दौडमा सुदूरपश्चिमकी संगीता विक (१ मिनेट ०१.१९ सेकेन्ड), छात्रा ८ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी (२ मिनेट १७.९ सेकेन्ड) र छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारु ९५७।४० मिटर० ले कीर्तिमान स्थापित गरेका थिए।
त्यस्तै, छात्र÷छात्राको बागमती टोलीले ४ गुणा ४ सय मिटर रिलेमा पनि कीर्तिमान कायम गरे। छात्रमा प्रवीण राना मगर, निरज शाह, हस्त सुनार र सन्तबहादुर दराई तथा छात्रामा दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले कीर्तिमान आफ्नो नाममा लेखाए।
छात्र त्रिपलजम्पमा सुदूरपश्चिमका विकास बुढा पहिलो भए। उनले १३.७३ मिटर जम्प गरे। सुदूरपश्चिमकै विक्रम नाथ दोश्रो र बागमतीका अविनाश सुनार तेश्रो भए।
छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो भए। उनले ९ मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गरे। कोशीका अमिर लिम्बू दोश्रो तथा लुम्बिनीका अर्विन्दकुमार यादव तेश्रो बने। सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी देवकी धामीले १० मिनेट ५२.९ सेकेन्डमा पूरा गर्दै स्वर्ण चुमिन् । बागमतीकी अस्मिता भुजेलले रजत तथा कर्णालीकी स्वस्तिका कठायतले कांस्य जिते।

छात्र २ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर पहिलो भए। उनले २२.४ सेकेन्ड समय खर्चे। लुम्बिनीका सुभम् वमरेल दोश्रो तथा गण्डकीका सुदीप भण्डारी तेश्रो भए। उक्त स्पर्धाको छात्रामा बागमतीकी दिना गोपाली पहिलो भइन् । दिनाले २७.१ सेकेन्ड समय लगाइन्। लुम्बिनीकी आरुषी भट्टराई दोश्रो तथा गण्डकीकी अनुष्का अधिकारी तेश्रो भए।
बागमती च्याम्पियन
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्समा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । त्यसमा बागमतीका लागि अनिशा थारु र प्रवीण राना मगरले समान ४–४ स्वर्ण योगदान गरे।
प्रवीणले १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते। अनिशा लङजम्प, ट्रिपलजम्प, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा पहिलो भइन् । अनिशाले ४ सय मिटर दौडमा थप १ रजत पनि हात पारिन्।
सुदूरपश्चिम समान ७–७ स्वर्ण, रजत र कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले ३ स्वर्ण, ५ रजत र ६ कांस्य हात पार्यो। कर्णालीले ३ स्वर्ण, २ रजत र ५ कांस्य तथा लुम्बिनीले १ स्वर्ण, ५ रजत र ५ कांस्य हात पा¥यो । स्वर्णविहीन कोशीले ३ रजत जित्दा मधेश पदकविहीन रह्यो।
उसुमा बागमतीलाई ८ स्वर्ण
राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत उसुमा बागमती ८ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । बागमतीले थप २ रजत र १ कांस्य पनि जित्यो।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा सुदूरपश्चिम दोश्रो भयो । सुदूरपश्चिमले ३ स्वर्ण, ७ रजत र २ कांस्य हात पार्यो। तेश्रो भएको लुम्बिनीले १ स्वर्ण र २ कांस्य प्राप्त ग¥यो । १२ स्पर्धा समावेश उसुमा बाँकी ४ प्रदेश स्वर्णविहीन बने।
अन्तिम दिन ८ स्वर्णको टुंगो लाग्यो । थाइची छ्वानको छात्रमा ६।४८ अंकसाथ एनेक्स महर्जन तथा छात्रामा ६।७९ अंकसाथ सेरिना पराजुलीले स्वर्ण चुमे। दुवै बागमतीका हुन्।
सान्सौंको पुरुष ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी पहिलो भए। महिला ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना विक र ४८ केजीमा बागमतीकी अनु मोक्तान शीर्ष स्थानमा रहे।
