इंग्लिस क्लब म्यानचेष्टर सिटी र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन्।
समूह जी अन्तर्गत मंगलबार राती भएको खेलमा जित हात पार्दै सिटी र लाइपजिग दुई खेल अगावै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।
एर्लिङ हालान्डको दुई गोल मदतमा सिटीले स्वीस क्लब योङ ब्वाइजलाई ३–० ले हरायो। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि हालान्डले २३औं र ५१औं मिनेटमा गोल गरे । फिल फोडेनले पहिलो हाफको इन्जुरी टाइममा एक गोल गरे ।
५३औं मिनेटमा सान्ड्रो लाउपर रातो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो।
यसै समूको अर्को खेलमा लाइपजिगले रेडस्टार बेलग्रेडलाई २–१ ले हरायो। लाइपजिगका लागि जाभी सिमोन्स र लुइस ओपेन्डाले गोल गरे।
शतप्रतिशत जित निकालेको सिटी चार खेलबाट १२ अंकसहित समूह जीको शीर्ष स्थानमा छ। चारमध्ये ३ खेल जित्दै ९ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा रहेर सिटीसँग प्रिक्वाटरफाइनल पुगेको हो।
चार खेलबाट समान १ अंक मात्र रहेको योङ ब्वाइज र रेडस्टार बेलग्रेड भने दुई खेल अगावै समूह चरणबाट बाहिरिएका छन्।