फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल घरेलु मैदानमा यमनसँग पराजित भएको छ। १३ हजारभन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनसँग २–०ले पराजित भयो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल दाही र मोहम्मद अब्दुल्लाह अल दाहीले दोस्रो हाफमा गोल गरे।
ओमारले ७२ औं मिनेटमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । उनले लेफ्ट ब्याक आशिष चौधरी उपचारका क्रममा मैदान बाहिर रहँदा गोल गरेका थिए ।
यस्तै मोहम्मद अब्दुल्लाह अल दाहीले खेलको अन्त्यतिर गोल गर्दै यमनको जित पक्का गरे।
यस समूहमा युएई र बहराइन बलियो टोली भएकाले नेपालसामु घरेलु मैदानमा यमनलाई हराएर अंक जोड्ने अवसर थियो । विशेषगरी फिनिसिङमा नेपालले राम्रो गर्न सकेन ।
छनोटमा नेपालको यो लगातार दोस्रो हार हो भने यमनको यो पहिलो जित हो। नेपाल पहिलो खेलमा युएईसँग ४–०ले पराजित भएको थियो भने यमन बहराइनसँग २–० ले पराजित भएको थियो ।