आसन्न एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गर्न भएको छ।
सोमबार मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको छ। एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले मुख्य प्रायोजकको रुपमा केएल दुगड ग्रुपसँगको सहकार्यले टिमलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको जनाएको छ।
नेपालमा खाद्यान्न उत्पादन र वितरणको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको के.एल. दुगड ग्रुपको ज्ञान जस्तो बलियो ब्रान्डसँगको साझेदारीले नेपाली महिला खेलाडीको सशक्तीकरण र खेलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास टिम व्यवस्थापनले लिएको छ।
सम्झौतासँगै अब टिमको जर्सी, मिडिया र सामाजिक सञ्जालमा के.एल. दुगड ग्रुपको ज्ञानलाई लुम्बिनी लाभाजको मुख्य प्रायोजकको रुपमा उल्लेख गरिनेछ।
केएल दुगड ग्रुपका कार्यकारी निर्देशक भावीका दुगडले नेपाली खेलकुदलाई सहयोग गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताइन्। उनले महिला खेलाडीहरूलाई अगाडी बढाउन र उनीहरूको प्रतिभालाई सम्मान गर्न आफ्नो समूह सधैं तयार रहेको उल्लेख गरिन्।
लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको सशक्त संयोजनमा प्रतियोगिताका लागि बलियो टिम तयार गरेको छ।
इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ।
