भरत यादव बने राष्ट्रिय पुरुष भलिबल प्रशिक्षक

2 Sep, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको मुख्य प्रशिक्षकमा भरत यादव नियुक्त भएका छन्।

नेपाल भलिबल संघले आसन्न काभा पुरुष भलिबल नेसन्स लिगलाई लक्षित गर्दै भरतलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

भदौ १२ गते संघको ५४औं कार्य सम्पादन समितिको बैठकले काभा पुरुष नेसन्स लिगमा सहभागिता गराउने निर्णय गर्दै टिमको मुख्य प्रशिक्षकमा भरतलाई नियुक्त गर्ने निर्णय गरेको हो।

महोत्तरीका यादवसँग राष्ट्रिय महिला र पुरुष टिमको सहायक प्रशिक्षकको रुपमा काम गरेको अनुभव छ। नेदरल्याण्ड्सका हान अबिङ राष्ट्रिय टिमको मुख्य प्रशिक्षक हुँदा उनी साहायक प्रशिक्षक थिए।

पहिलो पटक सिनियर टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि यादवले जिम्मेवारी पनि थपिएको बताएका छन्। उनले नेपाली भलिबलको विकास लागि काम गर्ने बताएका छन्।

नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले २ वर्षपछि कुनै पनि प्रतियोतिगा खेल्न लागेको छ। नेपाली टिमले २ वर्षअघि श्रीलंकामा काभा च्यालेन्ज कप खेलेको थियो।

त्यसपछि पहिलो पटक नेपाली टिमले काभा पुरुष नेसन्स लिग खेल्न लागेको हो। प्रतियोगिता कात्तिक ५ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा हुँदैछ।

भरत भदौ २० गतेबाट हुन लागेको एभरेस्ट महिल भलिबल लिगमा लुम्बिनी लाभाजको मुख्य प्रशिक्षक छन्।

भलिबल संघले पुरुष टिमको सहायक प्रशिक्षकमा उत्सव खड्का र व्यवस्थापकमा प्रविन श्रेष्ठलाई नियुक्त गरेको छ।