संयमित बन्न आग्रह गर्दै पारस भन्छन्– अराजकता, हिंसा र निरकुशताले समाज र देश बनाउँदैन

11 Sep, 2025
Share:
117 Shares

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जेनजी युवाहरुलाई संयमित र एकताबद्ध हुन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।

पारसले अराजकता, हिंसा र निरकुशताले समाज र देश बन्न नसक्ने पनि उल्लेख गरेका छन्। उनले देश नै बाँकी नरहे ढलेका संरचना उठाउन हामीलाई गाह्रो हुने बताएका छन्।

‘अराजकता, हिंसा र निरंकशता समाज र देश बनाउँदैन। देश नै बाँकी रहेन भने जो जसले जुन ठाउँमा जे पद वा जिम्मेवारी पाए पनि, हामीलाई धेरै गाह्रो हुने छ यो ढलेको संरचना उठाउन,’ पारसले लेखेका छन्।

अहिलेको परिस्थितिले नेपालीलाई गलत पहिचानतिर धलेलिरहेको पारसले चिन्ता व्यक्त गरेका छन्।

‘शान्ति र संयमको प्रतीक भनेर चिनिने हामी नेपाली, हाम्रो यो परिस्थितिले अब सायद हामीलाई गलत पहिचानतिर धकेलिँदै छौं। समाधान हामीबीचमै छ, मौका नपाएर, नदिएको हो?,’ उनले लेखेका छन्, ‘अब सायद चेतना भएसँगै सबै नयाँ पुराना पुस्ताको सक्षम नेतृत्वले परिवर्तन ल्याउन सुधारिएको, व्यवस्थित अनि जिम्मेवारी बोक्नु पर्नेछ। हामी उहाँहरूलाई सहयोग र समर्थन गरौँ।’

उनले देशमा शान्ति र स्थिरता कायम गर्न देशमा आमूल परिवर्तत गर्न हिँडेका सक्षम नेतृत्वलाई सहयोग गर्न सबैलाई अग्रह गरेका छन्।

‘देशमा अमूल परिवर्तनको उद्देश्यका साथ हिँड्नु भएका नयाँ र पुराना नेतृत्व सबैलाई आग्रह- सबै जना एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली देशमा ठूलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सबैलाई सहयोगको अनुरोध गर्दछु। संयमित बनौं, एकताबद्ध होऔं।’