वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित

28 Sep, 2025
Share:
117 Shares

टि-२० सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। शनिबार राति सारजाहमा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हरायाे।

याे नेपालकाे टि२० अन्तर्राष्ट्रियमा आईसिसीकाे पूर्णसदस्य विरूद्ध प्राप्त पहिलाे जित हाे। यसअघि टेस्ट राष्ट्रविरूद्ध १० खेल खेल्दा सबैखेलमा पराजित भएकाे थियाे।

पहिला ब्याटिङ गर्दै नेपालले दिएकाे १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।

उसका लागि नविन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए। अन्य ब्याट्सम्यान चल्न सकेनन्। नेपालले दुई रनआउट गरेकाे थियाे।

बलिङमा नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए भने कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियाे।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए। कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० तथा गुल्शन झाले २२ र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए।

१२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्लले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए भने डेब्यू नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए।

सिरिजकाे दोश्रो खेल साेमबार हुनेछ।