नेपाली अल्ट्रा रनर प्रिया राईले दोस्रो पटक एसिया ट्रेल मास्टर (एटीएम) को उपाधि जितेकी छन्। हङकङमा भएको एसिया ट्रेल मास्टरमा प्रियाले महिला ७२ किमीमा पहिलो हुँदै स्वर्ण जितेकी हुन्।
प्रियाले ९ घण्टा ५७ मिनेटमा निर्धारित दूरी पूरा गरेकी थिइन्। हङकङकी मान यी चेउङ दोस्रो तथा सिंगापुरकी डेनिङ लो तेस्रो भए।
प्रियाले लगातार दोस्रो पटक एसिया ट्रेल मास्टरको उपाधि जितेकी हुन्। उनले यसअघि सन् २०२४ मा पनि एसिया ट्रेल मास्टरको उपाधि जितेकी थिइन् । त्यसबेला नेपालबाट रशिला तामाङले तेस्रो हुँदै कांस्य जितेकी थिइन्।
उनी दुई पटक एसिया ट्रेल मास्टर उपाधि जित्ने पहिलो नेपाली रनर हुन्। एसिया ट्रेल मास्टरको एक दशक लामो इतिहासमा उपाधि रक्षा गर्दै दुई पटक च्याम्पियन बन्ने प्रिया पहिलो धाविका हुन्।
प्रियाले केही समयअघि म्यानमारमा भएको कालाव अल्ट्रा ट्रेल रन अन्तर्गत ५० किमीमा स्वर्ण जितेकी थिइन्।
खोटाङको ऐंसेलुखर्क गाउँपालिकाकी प्रिया राईले पछिल्लो समय अन्तर्राष्ट्रिय अल्ट्रा रेसहरूमा लगातार प्रतिस्पर्धा गर्दै उपाधिहरू जित्दै आएकी छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नियमित अल्ट्रा ट्रेल रेसहरूमा प्रतिस्पर्धा गरिरहेकी छन् ।
यस्तै पुरुषतर्फ फिलिपिन्सका जोन रे ओनिफाले उपाधि जिते। सन् २०२३ मा पहिलो पटक च्याम्पियन बनेका ओनिफाले पनि दोस्रो पटक यो रेस जितेका हुन्।
सन् २०१५ देखि सुरु भएको यस एसिया ट्रेल मास्टर्स अहिलेसम्म दुई नेपालीले जितेका छन्। नेपालबाट रशिला तामाङले सन् २०२३ मा पहिलो पटक उपाधि जितेकी थिइन्।
