चार पटकको विश्व च्याम्पियन इटाली लगातार तेस्राे पटक फिफा विश्वकपमा छनोट हुन असफल भएको छ।
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका लागि मंगलबार राति भएको युरोपियन प्लेअफमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४(१ ले पराजित भएपछि इटली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन सकेन।
इटली सन् २०१८ र २०२२ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । इटलीले सन् २०१८ र २०२२ दुवै विश्वकपका लागि प्लेअफ चरणमै पराजित भएको थियो।
इटलीले सुरुवाती तीन मध्ये दुई पेनाल्टी नै गोल गर्न नसकेपछि पराजित भयो। हारपछि इटलीका म्यानेजर गेनारो गटुसोले यसले हर्ट गर्ने यसलाई स्वीकार्न कठिन भएको प्रतिक्रिया दिए।
निर्धारित समयमा इटलीले सुरुवाती अग्रता लिएपनि खेल १–१ को बराबरीमा सकियो। त्यसपछि नतिजाको टुङ्गो पेनाल्टी सुटआउटबाट लगाइयो।
माइकल केनले १५औं मिनेटमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए। तर एलेसान्द्रो बास्टोनीले ४१औं रातो कार्ड सामना गरेपछि इटाली १० खेलाडीमा समेटियो।
त्यसको फाइदा उठाउँदै बोस्नियाका लागि हरिस ताभाकोभिचजे ७९औं मिनेटमा बराबरी गोल फर्काए।
४० वर्षी एडेन जेकोको कप्तानीमा रहेको बोस्निया एण्ड हर्जगोभिना भने समग्रमा दोस्रो र सन् २०१४ पछि पहिलो पटक फिफा विश्वकपमा छनोट भएको हो।
१४ वर्षपछि विश्वकपमा स्थान भएको बोस्नियाले अब समूह बी मा क्यानाडा, कतार र स्विट्जल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
