च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिय बर्नाबेउमै पराजित भएको छ। मंगलबार राति भएको खेलमा रियललाई जर्मन जायन्ट बायर्न म्युनिखले घरमै २–१ले पराजित गरेको हो।
दुवै टिमले थुप्रै मिस्टेक र गोलका सहज अवसर मिस गरेको खेलमा बायर्नका लागि लुइस डियाज र ह्यारी केनले गोल गरे। रियलका लागि किलियन एम्बाप्पेले गोल गरे।
पहिलो हाफको खेल पूर्ण रुपमा बायर्नको नियन्त्रणमा थियो। दुवै टिस सहज अवस्थामा गोल गर्न चुक्दा ४२औं मिनेटमा सर्ज गनाब्रीको पासमा लुइस डियाजले बायर्नलाई अग्रता दिलाए।
रियल सम्हालिन नपाउँदै दोस्रो हाफको दोस्रो मिनेटमै बायर्नले अग्रता दोब्बर बनायो। उसका ह्यारी केनले माइकल ओलिसेको पासमा गोल गरेका थिए।
खेलमा २ गोलले परेपछि रियलले सुधारिएको प्रदर्शन गरेको छ। मिडफिल्डमा बेलिङ्हमको आगमनपछि रियलले बायर्नमाथि विस्तारै दबाब बढाएको थियो। भिनिसियस जुनियरले केही राम्रा अवसर खेल फालेको खेलमा ७५औं मिनेटमा एम्बाप्पेले रियलका लागि गोल फर्काए।
त्यससपछि रियलले बायर्नमाथि निरन्तर आक्रमण गरेको थियो। तर, ४० वर्षीय कप्तान तथा गोलकिपर इमानुअल नोयरले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए।
क्वाटरफाइनलको दोस्रो लेग अर्को साता बायर्नको मैदानमा हुनेछ।
