विराज र विकेशकाे ट्वेल्व ट्रेनिङ सेन्टरको समर फुटबल क्याम्प सुरु

11 Apr, 2026
Share:
117 Shares

नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले आज शनिबार देखि समर फुटबल क्याम्प २०२६ सुरु गरेको छ।

सातदोबाटो स्थित नेपाल स्पोर्ट्स फेलोसिपको मैदानमा आज देखि आयोजित यो क्याम्प वैशाख ५ गते सम्म हुने छ। पहिलो दिन को क्याम्पमा ६१ विद्यार्थी सामेल थिए।

छुट्टीको समयमा विद्यार्थीहरू लामो समय फोन, ल्यापटप, टिभी जस्तै इलेक्ट्रोनिक उपकरण हेर्दै आफ्नो समय बिताउने गर्दै गरेको र त्यसले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा विद्यार्थीहरू लाई ग्याजेट बाट केही समय भए पनि टाढा राख्ने उद्देश्यका साथ यो क्याम्प आयोजना गरिएको हो।

विद्यार्थीको मानिसको र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेर देखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ।

४ देखि १६ वर्ष सम्मका बालबालिका रहेको यस क्यामको पहिलो दिनमा उमेर अनुसार समूह विभाजन गरि प्रशिक्षण गराइयो। विद्यार्थीहरूलाई बिराज साथसाथै अन्य एएफसीद्वारा प्रमाणित उत्कृष्ट प्रशिक्षकहरूले प्रशिक्षण दिने छन्।

विकेश भने त्रिभुवन आर्मी फुटबल क्लबसँग विराट गोल्ड कप खेल्न गएकाले आज क्याम्पमा उपस्थित थिएनन्। उनी सम्मीलित त्रिभुवन आर्मी फुटबल क्लबले आज झापा ११ सँग आफ्नो पहिलो खेल खेल्ने छ।

बालबालिकाको वृद्धिलाई लक्षित गर्दै डेभलपमेन्ट प्लान तयार गरि सोही अनुसार क्याम्प अवधि भर बालबालिकालाई प्रशिक्षण गराइने। नेपाल फुटबल खेलाडी संघका अध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी बिक्रम लामा र एजिसका प्रबन्ध निर्देशक सुरज मगरद्वारा टीएफटीसी समर फुटबल क्याम्प २०२६ को औपचारिक उद्‌घाटन गरिएको थियो। एजिस स्पोर्ट्स वेयर बिक्रेता कम्पनी हो। यस कम्पनीले विशेष गरि जिम वेयर्सको बिक्री गर्दै आएको छ।

विगत ६ महिनादेखि बालबालिकाको फुटबल खेल कौशलको विकास र वृद्धिमा काम यस ट्रेनिङ सेन्टर गर्दै आएको छ। ट्रेनिङ सेन्टरले हरेक शनिबार ग्रासरुट प्रशिक्षण गराउँदै आएको छ । यस क्याम्पमा सहभागी मध्यबाट सम्भावना देखिएका २ प्रशिक्षार्थीले १ वर्षको लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन्।