चीनको होकाईमा जुलाई ४ देखि ९ तारिकसम्म हुने चौथौ थाउलो विश्वकपका लागि नेपालबाट दुई खेलाडी छनोट भएका छन्। नेपालबाट चेन्सु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङले उसु विश्वकप खेल्ने भएका हुन्।
गत सेप्टेम्बर १ देखि ७ सम्म ब्राजिलको ब्रासेलियामा भएको १७औं विश्व च्याम्पिनसिपमा गरेको प्रदर्शनका आधारमा दुवै खेलाडी छनोट भएका हुन् । जसमा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गरेका थिए।
विजय सिन्जाली यसअघि जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलु विश्वकपमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल भएका थिए। जसबापत उनले नेपाल सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गरेका थिए।
विजय हाल न्युजिल्यान्डको एन जेड उसु एकेडेमीमा वैदेशिक प्रशिक्षणमा रहेका छन्। सुस्मिता तामाङलाई नेपाल ओलम्पिक कमिटिले २०औं एसियन गेम्मका लागि मासिक ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ। सुस्मिता पनि चाँडै वैदेशिक प्रशिक्षणमा जाने उसु संघले जनाएको छ।
विजय र सुस्मिता दुवैले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए।
दुवै खेलाडी एकदमै मेहेनती र प्रतिभाशाली रहेकोले यस पटक पनि विश्वकपमा नेपालले पदकको दाबेदारी दिने अन्तराष्ट्रिय उसु प्रशिक्षक निकेस श्रेष्ठले बताए।
