पहिलो लेगमा गरेको गोल मद्दमा आर्सनल स्पोर्टिङ सीपीलाई १–०ले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। आर्सनल लगातार दोस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो।
दोस्रो लेगमा स्पोर्टिङ सीपीसँग गोलरहित बराबरी खेले पनि समग्रमा १–० को जितसहित आर्सनल अन्तिम चारमा पुगेको हो। पहिलो लेगमा काइ हाभेर्ट्जले गरेको निर्णायक गोल नै आर्सनलका लागि पर्याप्त बन्यो।
खेलमा आर्सनलले सुरुवात राम्रो गरे पनि पहिलो हाफमा स्पष्ट अवसर भने स्पोर्टिङले नै बनायो । फ्रान्सिस्को ट्रिन्काओ, पेड्रो गोन्काल्भ्स र गेनी कातामोले गोलका अवसर सिर्जना गरेका थिए । कातामोको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा पनि स्पोर्टिङले दबाब बनाएको थियो। म्याक्सी अराउजोको अवसर नजिकैबाट बाहिरियो भने आर्सनलका लियान्द्रो ट्रोसार्डको हेडर पनि पोस्टमा लाग्यो।
अन्त्यसम्म गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा सकियो, तर पहिलो लेगको अग्रताले आर्सनललाई सेमिफाइनलमा पुर्यायो।
अब आर्सनलले फाइनल प्रवेशका लागि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। गत संस्करणको सेमिफाइनलमा आर्सनल पीएसजीसँग पराजित भएर बाहिरिएको थियो ।
