फिफा विश्वकप २०२६ का लागि फ्रान्सको २६ सदस्यीय टोली घोषणा भएको छ । प्रशिक्षक डिडिएर डेसच्याम्पले अनुभवी र युवा खेलाडीको मिश्रणसहित बलियो टोली सार्वजनिक गरेका हुन् ।
टोलीको नेतृत्व कप्तान किलियन एम्बाप्पेले गर्नेछन् । उनीसँगै वर्तमान बालोन डी’ओर विजेता उस्मान डेम्बेले पनि टोलीमा छन्।
आक्रमण पंक्तिमा एम्बाप्पे र डेम्बेलेसहित माइकल ओलिसे, डिजिरे डुए, रायन चार्की र मार्कस थुरामजस्ता खेलाडीले स्थान पाएका छन्। सबै अहिले उत्कृष्ट लयमा छ। उनीहरुलाई रोक्ने विपक्षी डिफेन्सलाई निकै मुस्किल हुनेछ।
रक्षापंक्तिमा विलियम सालिबा, जुल्स कुन्डे, इब्राहिमा कोनाते र लुकास हर्नान्डेज समावेश छन् । मिडफिल्डमा अनुभवी एन’गोलो कान्टे, ओरेलियन चुआमेनी र एड्रियन राबियोले टोलीलाई मजबुत बनाउनेछन् ।
यसपटक एडुआर्डो कामाभिंगा र रान्डाल कोलो मुआनी भने टोलीमा परेका छैनन्, जुन केही आश्चर्यको विषय बनेको छ ।
प्रशिक्षक डेसच्याम्पले टोली घोषणा गर्दै भने, ‘यो २६ उत्कृष्ट खेलाडीको मात्र सूची होइन, टोलीको सन्तुलनलाई ध्यानमा राखेर छनोट गरिएको समूह हो।’
फ्रान्सले विश्वकप अभियानको सुरुआत जुन १६ मा सेनेगल विरुद्ध गर्नेछ। त्यसपछि समूह चरणमा इराक र नर्वेसँग खेल्नेछ ।
