पुष्पसदनले जित्यो प्रथम निसर्ग वारियर्स बास्केटबल लिग उपााधि 

21 Jun, 2026
Share:
117 Shares

पहिलो संस्करणको निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको उपाधि पुष्पसदन सेकेण्डरी स्कुलले जितेको छ। 

निसर्ग बाटिका स्कुलले युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरेको लिगमा राराहिल मेमोरियल स्कुल दोस्रो भयो। 

८ टिम सहभागी भएको लिगमा स्वर्णिम स्कुल तेस्रो बन्दा बन्यो। प्रतियोगितामा च्याम्पियन पुष्पसदनका मात्रिका बुढाथोकी मोस्ट भ्यालुएबल प्लेयर बने भने १४५ स्कोर गरेका एलआरई स्कुलका सुजल मदाई  ‘टप स्कोरर’ बने।

युवाहरुलाई बास्केटबलमा प्रेरित गर्दै अवसर सिर्जना गर्न बास्केटबल लिग आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक मोनिका प्रधानले बताइन्। यस्ता प्रतियोगिताले विद्यालयहरूबीच आपसी सम्बन्ध, सम्मान र सहकार्यलाई समेत सुदृढ बनाउने उनले विश्वास व्यक्त गरिन्।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बास्केटबल नेपाल एसोसिएसनका सचिव तथा दक्षिण एसियाली बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापाले निसर्गले विद्यार्थी खेलाडीका लागि उत्कृष्ट प्लेटफर्म निर्माण गरेको उल्लेख गर्दै आयोजक टोलीलाई धन्यवाद दिए। उनले आगामी दिनमा अझ वृहत् र स्तरिय प्रतियोगिताहरू आयोजना गर्न शुभकामना समेत व्यक्त गरे।

त्यसैगरी राष्ट्रिय बास्केटबल टोलीका प्रशिक्षक बिकुलाल महर्जनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास र खेलप्रतिको लगाव बढाउने बताउँदै भविष्यमा राष्ट्रलाई उत्कृष्ट खेलाडी प्रदान गर्ने आधार तयार पार्ने विश्वास व्यक्त गरे।

माछागेटस्थित निसर्गको बास्केटबल कोर्ट तथा हाई स्कूल बास्केटबल कोर्टमा सम्पन्न  प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, खेल कौशल अभिवृद्धि गर्ने तथा वास्तविक प्रतिस्पर्धात्मक वातावरणमा अनुभव हासिल गर्ने अवसर प्रदान गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सुदिपराज भण्डारीले बताए।

गत जेठ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा एलआरआइ स्कूल, न्यू जेनिथ इंग्लिस बोर्डिङ स्कूल, निसर्ग बाटिका स्कूल, भ्याली भ्यू स्कूल, हिल टाउन सेकेण्डरी स्कुल सहभागी थिए। 

आयोजकका अनुसार यस प्रतियोगिताले काठमाडौंका युवाहरूलाई व्यवस्थित र उच्चस्तरीय प्रतिस्पर्धात्मक खेलको अवसर प्रदान गरेको छ। विद्यालयले आगामी दिनमा शैक्षिक उत्कृष्टतासँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएको छ।