विश्व फुटबलका प्रतिष्ठित क्लबमध्ये एक आर्सनलले २०२५–२६ सिजनका लागि आफ्नो ुफर्स्ट इयर स्कलर्सु सूची सार्वजनिक गरेको छ। यू–१६ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेका १३ खेलाडीलाई दुई वर्षे छात्रवृत्ति सम्झौता दिइएको छ, जसमा नेपाली मूलका मिडफिल्डर सौरप साम्पाङ पनि परेका छन्।
सौरप आठ वर्षको उमेरदेखि आर्सनलको चर्चित हेल एन्ड युवा एकेडेमीमा आबद्ध छन्। बक्स–टु–बक्स मिडफिल्डरका रूपमा परिचित उनी आफ्नो खेल शैलीका कारण आर्सनल तथा इंग्ल्यान्डका स्टार डेक्लान राइससँग तुलना गरिन्छ, जसलाई उनी आफ्नो आदर्श पनि मान्छन्।
सन् २०२४–२५ को यू–१६ प्रिमियर लिग कपमा आर्सनललाई उपाधि जिताउन सौरपले महत्वपूर्ण भूमिका खेलेका थिए। फाइनलमा चेल्सीलाई ३–१ ले पराजित गर्दा उनी सुरुआती ११ खेलाडीमा समावेश थिए।
सौरपको प्रतिभा केही वर्षदेखि नै आर्सनलभित्र चर्चामा छ। सन् २०२३ मा उनले जर्मनीमा आयोजित आर्सनल यू–१८ टोलीको प्रिसिजन प्रशिक्षणमा सहभागिता जनाएका थिए। आवश्यक पर्दा उनले राइट–ब्याकको भूमिकासमेत निभाएका थिए। विद्यालय तहकै खेलाडी हुँदा उनी फुलहमविरुद्धको आर्सनल यू–२१ टोलीको खेलमा बेन्चमा पनि परेका थिए।
अन्तर्राष्ट्रिय फुटबलमा पनि उनले पाइला चालिसकेका छन्। २० फेब्रुअरी २०२४ मा स्कटल्यान्डविरुद्धको खेलबाट उनले इंग्ल्यान्ड यू–१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। यद्यपि, आर्सनलको युवा टोलीबारे जानकारी दिने चर्चित ब्लगर जर्ज बर्डका अनुसार सौरप अझै पनि भविष्यमा नेपालको राष्ट्रिय टोलीबाट खेल्न योग्य छन्।
आर्सनलसँग छात्रवृत्तिको सम्झौता गरेपछि सौरपले भने– पहिलो टोलीतर्फ अझ नजिक पुगिरहेको महसुस भएको छ, यो निकै विशेष कुरा हो। तर त्यहाँ पुग्न अझै धेरै मेहनत गर्नुपर्नेछ भन्ने मलाई थाहा छ। म अन्डर–८ टोलीदेखि यहाँ छु। क्लबले ममाथि विश्वास गरेको छ, जसले भविष्यका लागि अझ आत्मविश्वास दिएको छ।
सौरपको छात्रवृत्ति सम्झौतामा हस्ताक्षर कार्यक्रम इमिरेट्स स्टेडियममा सम्पन्न भएको थियो, जहाँ आर्सनल एकेडेमीका प्रमुख तथा प्रिमियर लिगका पूर्व डिफेन्डर पेर मर्टेसाकर पनि उपस्थित थिए।
भविष्यमा उनले इंग्ल्यान्ड रोज्ने वा नेपाल, त्यो समयले तय गर्ने विषय हो। तर अहिलेका लागि नेपाली मूलका एक प्रतिभाशाली खेलाडीले विश्वकै प्रतिष्ठित क्लबमध्ये एकको व्यावसायिक यात्रातर्फ महत्वपूर्ण कदम चालेका छन्। नेपाली फुटबल समर्थक र विशेषगरी आर्सनलका प्रशंसकका लागि यो गर्व र प्रेरणाको क्षण हो।
