स्पेनिस क्लब रियल मड्रिडले आइभोरी कोस्टका युवा विंगर यान डियोमान्डेलाई अनुबन्ध गर्ने भएको छ।
यी १९ वर्षीय विंगरलाई रियलले जर्मन क्लब आरबी लेइपजिगबाट अनुबन्धन गर्न लागेको हो।
उनका लागि रियल १ सय मिलियन युरो तिर्न तयार भएको छ। व्यक्तिगत सर्तहरूमा डियोमान्डे रियलसँग सहमत भएको र लेइपजिग पनि मौसिख रुपमा सहमति भइसकेको बताइएको छ। यो ट्रान्सफरको औपचारिक सम्झौता भने हुन बाँकी छ।
उनलाई भित्र्याउन पिएसजीले पनि चासो दिएको छ। पिएसजीसँग व्यक्तिगत सर्तहरूमा डियोमन्डेले सहमति जनाइसकेको बताइएको थियो। तर, क्लबसँग पिएसजीको कुरा मिलेको थिएन।
तर, अहिले भने पिएसजीले औपचारिक रुपमै डियोमान्डेलाई अनुबन्धन नगर्ने बताइसकेको छ। सोही कारण उनी रियल जाने पक्का भएको हो।
रियलसँगको उनको सम्झौता इङ्ल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङ्घमको जस्तै ढाँचामा तयार गरिएको छ। यसमा खेलाडीको मैदान भित्रको प्रदर्शनका आधारमा पारिश्रमिक र सुविधाहरू वर्षैपिच्छे बढ्दै जाने उल्लेख छ।
डियोमान्डे गत वर्ष मात्रै स्पेनिस क्लब लेगानेसबाट पाँच वर्षको सम्झौतामा लाइप्जिग पुगेका थिए। रियल म्याड्रिडले विश्वकपको प्रदर्शनलाई मात्र आधार नमानी लामो समयको मूल्याङ्कनपछि उनलाई रोजेका हुन्।
डियोमान्डे सन् २०२५–२६ को बुन्डेसलिगा सिजनको उत्कृष्ट युवा खेलाडी बनेका थिए। गत सिजन उनले १२ गोल र ८ असिस्ट गरेका थिए।
